नेपाल कृषि प्रधान देश भनेर वर्षौदेखि भनिँदै आएको छ। कृषि प्रधान देशकै नाममा विभिन्न प्रकारका सहायता विभिन्न मुलुकबाट आइरहेको छ तर कृषि प्रधान मुलुकलाई जति कृषि र पशुपालन विज्ञ चाहिन्छ त्यो छैन। नेपालमा अहिलेसम्मको अवस्थालाई हेर्ने हो भने जोसँग ज्ञान छैन उसले काम गरिरहेको छ, जोसँग ज्ञान छ उसले काम गर्ने वातावरण पाएको छैन। यसको कारण कृषि र पशुपालक विशेषज्ञको अत्यन्तै कमी हुनु हो।
भेटेरिनरी साइन्सका स्नातकहरु सम्पूर्णरुपले प्राविधिक हुन्। भेटेनरी डाक्टरहरुको क्षेत्र वृहत छ। उनीहरुले गाउँघरमा गएर क्लिनिक सञ्चालन गर्नुको साथै आफैं उत्पादनमूलक काम पनि गर्न सक्छन्। यहाँको पाठ्यक्रमको विकास गर्दा नै विद्यार्थीहरुले स्नातक गर्नासाथ जागिरको खोजी होइन, आफैं उद्यमी बन्न प्रेरित गर्ने कुरामा ध्यान पुर्याइएको छ।
हाम्रो देशमा कृषि तथा पशुविज्ञेषज्ञ निकै थोरै छन्। अहिले कृषि क्षेत्रमा काम गर्ने अधिकांश व्यक्ति अशिक्षित छन् भने शिक्षितले काम गर्ने वातावरण बनेको छैन। अहिलेको अवस्थालाई हेर्ने हो भने कृषिसम्बन्धी अन्य संस्था पनि हुनु जरुरी छ। त्यसका लागि सरकारले पहल गर्नुपर्छ। अहिलेसम्म नेपालमा भेटेनरी डाक्टरको गणना गर्ने हो भने करिब चार सय जति मात्रै छ। ती चार सयमध्ये पनि ७० प्रतिशत भेटेनरीयनहरु काठमाडौंमै सीमित छन् वा विभिन्न प्रोजेक्टमा क्रियाशील छन्। जिल्लाहरुमा मुस्किलले पनि एक जना भेटेनरियन पुर्याउन नसकेको अवस्था छ। प्रत्येक जिल्लामा कम्तिमा २०/२५ जना भेटेनरी डाक्टर हुनु आवगश्यक छ। नेपाल भौगोलिक विविधताले भरिपूर्ण देश भएकोले यहाँ विभिन्न ठाउँमा विभिन्न प्रकारका व्यवसाय गर्न सकिने अवस्था छ। यी दक्ष जनशक्तिहरुले ती क्षेत्रमा गएर काम गरेमा कुनै पनि व्यवसायले दिगो रुप लिन सक्छ। उदाहरणको लागि चितवनमा केही भेटेनरी डाक्टरहरु आफैं संलग्न भएर कुखुरापालन गरेका छन्। त्यसैले अहिले कुखुरापालनमा गति आएको छ। त्यसैले सरकारले कृषि प्रधान मुलुकलाई आवश्यक पर्ने शिक्षा प्रणालीलाई बढी जोड दिएर अगाडि बढाउन सक्ने अवस्था सिर्जना गरेमा मात्र कृषिले हाम्रो आर्थिक अवसरलाई टेवा दिन सक्छ।
No comments:
Post a Comment